Advertisement
![]() |
काठमाडौँ ९ पुस– नेपालको राजनीतिक नेतृत्व
छिमेकी भारतसँग यति धेरै नतमस्तक छ कि भारतका
सामान्य मानिस भेट्दा समेत कनीकुथी हिन्दी
बोलिहाल्छन् ।
नेपालीमै बोलेर दोभासेको सहयोग लिन पनि
सकिन्छ । कटनीतिमा बाहिर त्यस्तो चलन पनि छ ।
उदाहरणका लागि जतिसुकै अंग्रेजी जानेको भए
पनि चिनियाँ, जापानी , कोरियन र फ्रान्सेलीहरु
नेपालमा पनि अंग्रेजीमा बोल्दैनन् ।
दोभासो राख्छन् र आफ्नै मातृभाषमा बोल्छन् ।
मंगलबार नेपालमा पनि एउटा अनौठो घटना भयो ।
सभामुख ओनसरी घर्तीले नेपालका लागि भारतीय
राजदूत रञ्जित रायसँग नेपालीमै कुरा गरेकी छन् ।
ओनसरी गत २९ कात्तिकमा व्यवस्थापिका–
संसदको सभामुख निर्वाचित भएकी थिइन् । तर
नेपालमा नाकाबन्दी गरिरहेको भारतका राजदूतले
अहिलेसम्म उनीसँग शिष्टाचार भेट गरेका थिएनन् ।
दिल्लीले नेपालमा मधेसी मोर्चाका माग पुरा गर्न
सरकार तर्फबाट चालिएका पछिल्ला कदमको
स्वागत गरेलगत्तै सभामुख भेट्न राय सिंहदरबार पुगेका
थिए । उनले भारतको लोकसभामा पनि महिला नै
सभामुख रहेको प्रसंग कोट्याउँदै नेपालमा पनि
महिला सभामुख भएकामा खुसी लागेको बताएर
कुराकानीको सुरुआत गरेका थिए ।
जब सभामुख घर्तीले नेपालीमै कुुराकानी सुरु गरिन्,
तब सँगै रहेकाहरु चकित भए । भेटमा संसद्
सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई,
सचिव मुकुन्द शर्मा र परराष्ट्र मन्त्रालयका
प्रतिनिधिसमेत सहभागी थिए । भारतीय राजदूत
रायले भने हिन्दीमै बोलेका थिए । रायले पनि
नेपाली बुझ्ने भएकाले दोभासेको पनि प्रयोग
गरिएको थिएन ।
मोदी भ्रमणको स्मरण
राजदूतले नेपालको मन्त्रिपरिषद्ले मधेसी मोर्चाका
माग सम्बोधनका लागि लिएको निर्णयको भारत
सरकारले स्वागत गरिसकेको भन्दै त्यसले समस्या
समाधान गर्नेमा आशावादी रहेको विश्वास व्यक्त
गरे ।
प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउँदा जलविद्युत
र विकासमा सहकार्यका लागि आग्रह गरेको प्रसंग
कोट्याउँदै रायले नेपालको समृद्धिमा भारत सधैं
सहयोगीको भूमिका खेल्न तयार रहेको प्रतिबद्धता
जनाए ।
‘भारतलाई यो कुरा प्रष्टसँग थाहा छ कि नेपालको
शान्ति र समृद्धिमा नेपाल र भारत दुवैको हित
हुन्छ’, राजदूत रायले भने ।
भारत भ्रमणको निम्तो
राजदूत रायले सभामुख घर्तीलाई भारत भ्रमणको
औपचारिक निम्ता पनि दिए ।
यसअघि भारतीय सभामुख नेपाल आएकाले अब
नेपालको सभामुखको भारत जाने पालो आएको
उनले बताए । जवाफमा सभामुख घर्तीले आफू उपयुक्त
समयमा भारत जाने बताइन् ।
Advertisement
![]() |
1 comments
प्रतिक्रिया दिनुहोस्...
December 24, 2015 at 10:42 AM
It is called power.